लुम्बिनी प्रदेशमा द्वन्द्वका घाइते तथा अपाङ्गलाई निशुल्क उपचार र भत्ता



। लुम्बिनी प्रदेशमा निःशुल्क उपचारको व्यवस्था भएपछि द्वन्द्वका समयमा घाइते तथा अपाङ्ग भएकाहरु लाभान्वित भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयलले द्वन्द्वकालमा विभिन्न कारणले घाइते तथा अपाङ्ग भएकाहरुलाई उपचारमा सहयोग उपलब्ध गराउन थालेपछि पीडितहरुले राहत महसुस गरेका हुन् ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लालाई लक्षित गरी मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि द्वन्द्वका क्रममा घाइते तथा अपाङ्ग भएकाहरुको उपचार गर्न सुरु गरिएको थियो । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा घाइते तथा अपाङ्गहरुले उपचार गराइरहेका छन् ।

त्यस्तै प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएकालाई थप उपचारकमा लागि चितवन मेडिकल कलेज,वीर अस्पताल र नेशनल अर्थोपेडिक सेन्टरमा पठाउँदै आएको छ ।

प्रदेश सरकार स्थापना भएसँगै पाीडितको उपचार गर्न विशेष कार्यक्रम तयार पारी निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सीले बताए । आर्थिक अभावमा उपचार गर्नबाट कोही पनि बञ्चित हुन नदिन र द्वन्द्वका घाउँहरुमा मल्हम लगाउन कार्यक्रममार्फत पहल लिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७५/७६ देखि मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा ५० लाख विनियोजन गर्दै आएको छ । उक्त आर्थिक वर्ष ६१ जनाले उपचार गराएका थिए । कार्यक्रम सुरुवातको पहिलो वर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा शिविर सञ्चालन भएको थियो । यस वर्ष १० लाख बराबरको बजेट खर्च भयो ।

आर्थिक वर्ष २०७६/७७ मा ३२ जना घाइते तथा अपाङ्गले उपचार गराएका थिए । जसमा १८ जना पूरानै र १४ जना नयाँ पीडितले उपचार गराएका थिए । यस आर्थिक वर्षमा ३३ लाख ९२ हजार ५२ रुपैयाँ उपचारमा खर्च भएको थियो । कोरोना महामारीका कारण कतिपय पीडितहरु सम्पर्कमा आएपनि उपचार सेवा भने लिन सकेनन् ।

चालु आर्थिक वर्ष २०७७/७८ मा ४४ जनाले उपचार गराइरहेका छन् । मन्त्रालयका अनुसार आर्थिक वर्षको अन्त्यसम्ममा उपचार गराउने आउनेको संख्या थप हुन सक्छ ।

उपचार गराउन आउने घाइते तथा अपाङ्गहरुलाई निशुल्क उपचारसहित भत्ताको समेत व्यवस्था गरिएको छ । उनीहरुले एकपटक उपचार गराउन आउँदा पाँच दिन र जिल्ला बाहिर रेफर गर्नुपरे सात दिनको भत्ता पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्